पवित्र धार्मिक स्थल देवघाट धामको परिसरमा अवस्थित नवलपरासी जिल्लाको गैंडाकोट गा।वि।स। वडा नं। १ मा रहेको, मौला कालिका मन्दिर, धार्मिक, साँस्कृतिक एवं पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण स्थानकाे रुपमा सुप्रसिद्घ छ । समुद्र सतह देखि ५६१ मिटरको उचाई र समथल भूमि बाघखोरबाट २ कि।मि। माथि अवस्थित यस मौलाकालिका मन्दिर प्राकृतिक सौर्न्दर्यले भरिपूर्ण पहाडी वनको धूरीमा रहेको छ । नारायणगढबाट नारायणी नदीको पुल पार गर्ने बित्तिकै दाहिनेतिर दुइ किलोमिटर भित्र जुनकुनै पनि सवारी साधनबाट मन्दिर प्रवेशद्वारमा पुगिन्छ । प्रवेशद्वारदेखि दुइर्मिटर चौडाइको पैदल हिँड्ने उकाली-ओराली बाटोमा छपनी ढुङ्गा बिछाइएको सिढी मार्ग छ। बाटोमा सिद्धि विनायक गणेश मन्दिर, श्री राधा कृष्ण मन्दिर देउराली देवीको मन्दिरमा पूजा-अर्चना र दर्शन गरी आत्म सन्तुष्टि लिन सकिन्छ । मौलाकाली सामुदायिक वन र मौला कालिका धार्मिक वनभित्र निकै रमणीय हरियाली वातावरण भएकोले उकालो चढ्दा पनि कठिनताको महसुस हुदैन । भन्ज्याङ्ग चौतारीहरुमा विश्रामगरी चिसो पानी पिउँदै, सुन्दर प्राकृतिक दृश्यावलोकन गर्दै करिब एकघण्टामा मौलाकालिका मन्दिरमा पुग्न सकिन्छ।

मान्छेले दृढ इच्छा शक्ति देखायो भने के गर्न सकिंदैन भन्ने उदाहरण बनेको छ गैंडाकोट स्थित मौला कालिका मन्दिर । जव डाँडाको टुप्पामा अर्थात मौलाकालिका मन्दिरमा पुगिन्छ तव रमणीय पर्यटकीय छटाले मोहनी लगाउँछ । मौला कालिका मन्दिर देश-विदेशका धार्मिक पर्यटकहरुको लागि महत्वपूर्ण अवलोकनीय स्थल समेत बनेको छ । दक्षिणतर्फ नजिकै देखिने नारायणगढ बजारका साथै त्रिशूली र कालीको संगम देवघाटधाम पछि नारायणी नामबाट बग्ने नदीले त्यहाँ पुग्ने हरेक व्यक्तिको मन लोभ्याउनु स्वाभाविक नै हो । यहाँबाट नवलपरासी , चितवन, तनहुँ एवं गोर्खा जिल्लामा पर्ने अग्ला अग्ला पहाड, डाँडा, भञ्ज्याङ्ग, भीरपाखा र हिम-श्रृंखलाहरुको साथै सुप्रसिद्ध तिर्थस्थल देवघाटधाम, चितवनको समथर भूमि र राष्ट्रिय निकुञ्जको जंगल अवलोकन गर्न सकिन्छ । बि।सं। २०३८ सालदेखि सँस्थागत रुपमा पूजा-अर्चनाको साथै जनसहभागितामा विकास निर्माण कार्यहरु गरिंदै आएको र बि।स २०५३ सालमा प्यागोडा शैलीमा ठूलो मन्दिर निर्माण भएपछि धार्मिक तथा अन्य पर्यटकहरुको संख्या उल्लेखनीय रुपमा बढेको छ । भगवतीको दर्शन र चरणमा गरेको भाक्कलहरुबाट मनोकांक्षा पूरा हुन्छ भन्ने भक्तजनहरुको विश्वास छ । स्थानीयवासीको सक्रियतामा संरक्षित सामुदायिक वन अहिले यति हराभरा भएको छ कि तर्राई तथा पहाडमा पाइने चराचुरुङ्गी तथा जंगली जनावरले यस घना जंगललाई आफ्नो वासस्थान बनाएका छन् ।
मौलाकालिकाको मन्दिर परिसरलाई सुव्यवस्थित वनाउने उद्देश्यले बि।सं।२०३७ साल आश्विन २५ गतेका दिन श्री धार्मिक सेवा समिति गठन भई बि।सं। २०३८ साल बडा दशैं घटस्थापना का दिन देखि मौला कालिका मन्दिरमा आबद्ध भएको हो । सो समिति १५ जनाको थियो । सोहि सालदेखि नै त्यहाँ पूजारीको पनि व्यवस्था भायो । २०४४ साल देखि दैनिक पुजापाठ सञ्चालन भएको छ। साथै देनिक कार्य संचालन, विकास निर्माण एवं अभिलेखलाई अध्यावधिक गर्न बि।सं। २०४९ असोज २२ गते धार्मिक सेवा समिति मौलाकालिका मन्दिरको कार्यालय स्थापना भयो।
बि।सं। २०५४ साल श्रावण ८ गते धार्मिक सेवा समिति, मौलाकालिका मन्दिर, गैडाकोट-१, को विधान जिल्ला प्रशासन कार्यालय नवलपरासीमा दर्ता भइ यसले वैधानिकता पाएको छ ।
मन्दिर भित्र महाकाली, महालक्ष्मी, महासरस्वती, शिव र गणेशका सुन्दर मूर्र्तिहरु रहेका छन् । साथै बहिर तुलसीमठ, शिवलिङ्गमठहरु बनाइएका छन् । भजन किर्तन एवं अतिथि भवन, परेवाकुञ्ज , प्राङ्गणमा टायल बिच्छाइएको छ, स्वागतद्वार, कालिका सत्कार गृह, २०६५।६६ सालमा हवन कुण्ड र अतिथि विश्रााम गृह आदि मौला कालिकाका विशेषता हुन् । यति मात्रै नभएर पानी र बिजुली बत्ति टेलिफोन समेत को राम्रो व्यवस्था भएको सो क्षेत्रमा चौतारीहरु र हेलीप्याडको समेत निर्माण भएको छ ।
मौला कालिका मन्दिरमा जानका लागि सिंढीमार्ग निर्माण भएको छ जसमा मन्दिर सम्म पुग्न १ हजार ८ सय ८२ वटा सिंढी पार गर्नु पर्छ । मौला कालिका मन्दिर र आसपासको क्षेत्रलाई व्यवस्थित बनाउने, भौतिक संरचनाहरुको संरक्षण र मर्मत सम्भार आदि कार्य गर्नका लागि सजिलो होस् भनी अक्षय कोषको स्थापना समेत गरिएको छ । मौला कालिकाको नाममा धार्मिक वन बाहेक कुनै किसिमको स्थायी जग्गा जमीन गुठी केही छैन ।